मानिसको जीवन यात्राका क्रममा, धेरै भेटहरू अनपेक्षित हुन्छन् । यी अनपेक्षित भेटहरू मध्ये थोरै भेटहरू र संगतहरू मात्र समयक्रमसँगै गाढा बन्दै जान्छन् । कुनै बेलाको अपरिचित मानिस, जीवनको कुनै चरणमा पुग्दा यति घनिष्ट बन्न पुग्छ कि उनीहरु एक-अर्का बिना अपूर्ण र अधुरो महसुस गर्ने अवस्थामा पुग्छन् । नाता-सम्बन्धको वृत्तभन्दा बाहिरको यस्तो सम्बन्ध सायद मानव जातिको मौलिक विशेषता हो ।
जति नै चाह राखे पनि वा जति नै यत्न गरे पनि, मानिसका सम्बन्धहरू चीरस्थायी भने हुँदैनन् । कुनै न कुनै बिन्दुमा पुगेर, सबै सम्बन्धहरू बालुवाका अक्षरहरू जस्तै मेटिएर जान्छन्, पखालिएर जान्छन् । यो जीवनको जस्तै सम्बन्धको पनि स्वाभाविक परिणति हो । तर, नचाहँदा नचाहँदै, परिस्थितिबस हठात् टुङ्गिएका सम्बन्धहरूलाई मानिसले सजिलै बिर्सन सक्दैन । ती सम्बन्धहरू र सम्बन्धका पलहरू विवशतामा छुट्टिनेकालागि आजीवन यादगार बन्न पुग्छन् र मानिस बाँचुन्जेल विगतमा फर्किएर, विगतका पलहरूको स्मृतिको घुड्कोमा आफ्नो अतृप्त तृष्णा मेट्ने चेष्टा गर्न बाध्य हुन्छ । अधुरो प्रेमको यही विशेषतालाई लिएर धेरै संगीत र साहित्य रचिएको छ ।
कामबाट फर्किएपछि बियर पिउँदै, ऊ आफ्नो विगतको कथा सुनाउँथ्यो, अक्सर, एउटै र उही कथा । वर्षौंदेखि छुट्टिएकी (र पछि अर्कैकी भइसकेकी) आफ्नी प्रेमिकाको बाटुलो अनुहार र सुन्दर रूपको ऊ सधैं उस्तै गरी बयान गर्थ्यो । त्यो पहाडी ठिटो, आफ्नो सम्बन्धको यसरी बेलिबिस्तार लगाउँथ्यो जसरी अघिल्लो दिन लगाएको हुन्थ्यो । मानौं ऊ कुनै नयाँ व्यक्तिलाई नयाँ कुरा सुनाउँदैछ ।
नेपाल छाड्ने बेला, आफ्नी प्रेमिकालाई भेट्न नपाएकोमा उसलाई ठूलो खेद थियो र हतारमा नेपाल छाड्नुपर्ने गरी गल्ती गरेकोमा उत्तिकै पछुतो पनि । आफैले "धेरै सुधारिएको" भनेको ऊ अलिक अप्ठेरो मान्छे थियो । ऊ इखालु थियो र सजिलै मुख छाडिदिन्थ्यो । नेपालमा हुँदा सायद हात पनि त्यसरी नै छाड्दो हो । उसको गजबको माझिएको अंग्रेजीले उसको परिवारको सामाजिक/आर्थिक हैसियत र उसले पाएको सुविधा बोल्थ्यो । जीवनमा एउटा 'गल्ती' नगरेको भए, उसले राम्रै ठाउँमा पुग्ने योग्यता र हैसियत राख्थ्यो । घरपरिवारबाट बर्षौंदेखी टाढिएर बिदेशको कुनै शहरमा घरदेखी काम र कामदेखी घरको ओहोरदोहोरमा गुमनाम एक्लो जीबन बिताइरहेको उसले देश फर्कने आश मारिसकेको थियो । यी सबका बाबजुद, हिँड्ने बेला आफ्नी प्रेमिकालाई एक झलक देख्न नपाएको कुरा नै उसलाई हरबखत बिझाइरहन्थ्यो ।
कुनै साँझ घरबाट सुटुक्क निस्किएर सल्लाघारी मुनिको बतासे डाँडामा आफ्नी मायालुसँग आकाशका ताराहरू हेर्दै बसेको र गफमा आधा रात कटाएको कुरा ऊ बारम्बार सुनाउने गर्थ्यो ।
"एक पटक फेरि त्यसरी नै भेट्न मिल्ने भए!" ऊ भन्ने गर्थ्यो ।
"याद छ?" मूलरूपमा आजभन्दा झन्डै १५ वर्ष पहिले (त्यो पहाडी ठिटोलाई भेट्नुभन्दा केही वर्षअघि) लेखिएको कविता हो । यसको पुनर्लेखन गर्दैगर्दा मलाई त्यो राम्रोसँग बिछोडिन नपाएको युवकको झल्झली सम्झना आइरह्यो । छुट्नुभन्दा अघि उसले आफ्नी प्रेमिकालाई भेट्न पाएको भए, सायद उसले पनि बिदाइको रातलाई त्यसरी नै सम्झन्थ्यो होला जसरी कविताको 'म' पात्रले सम्झन्छ । कमसेकम, ऊसँग सम्झनकालागि बिदाइको पल त हुन्थ्यो । पुनर्लेखन प्रक्रियामा उसका प्रकृति चित्रणका बाछिटाहरू अवश्य परेका छन् ।
३-४ महिनाको बसाइपछि, हामीहरू आ-आफ्नो बाटो लाग्यौं र ऊसँग मेरो फेरि कहिल्यै सम्पर्क भएन । उसलाई सम्झँदा म सोच्ने गर्छु, आफ्नी प्रेमिकालाई र प्रेम वियोगको अनुभूतिलाई उसले आजकल कसरी याद गर्दो हो ?
प्रस्तुत छ कविता “याद छ ?"
याद छ ? —
पुर्णिमाको रात थियो
शरदको याम थियो
पतझडको बेला थियो
धुलाम्य बाटो थियो
हामी दुई थियौं
— चुपचाप —
हामीलाई पछ्याइरहेका
हाम्रा छाँयाहरु थिए ।
त्यो रातको मौनतामा
आवाज हाम्रै पदचापको थियो ।
... ... ...
याद छ ? —
जुनेली उज्यालोमा धुँवाको बर्को ओढेका
पहाडका दोछाँयाहरु थिए पर-पर
सिर्सिरे बतासको सुसेलीमा
सल्लाको मादक राग थियो
पंछीको बिरही आवाज थियो कतै
झ्याँउकिरीका एकनास तानहरु थिए
टाढा कतै कल्कलाईरहेको थियो पानीको धार
चट्टानहरुका माझ अनबरत ।
हामी एकअर्काको समिपमा थियौं
तर निशब्द थियौं ।
... ... ...
याद छ ? —
कुनै दुर-देशको युद्दमोर्चामा
निस्कनु अघिका सिपाहीले झै
भयक्रान्त सपनाको दोसाँधमा
अधिर पाइलाहरु चाल्दै एकसाथ
हामी पुगेका थियौं त्यो रात
सिमबगरको सुनसान दोभान ।
आड लागेर चिसो चट्टानी भित्तोमा
निकैबेर चिहाएका थियौं एकटकले
आकाशको टहकिलो जुन,
अनि चिहाएका थियौं फर्किएर
हामीले पार गरेको पहरेबनको कुइनेटो ।
त्यो रातको लामो मौन यात्रामा
नबोलेरै हामीले धेरै कुरा गरेका थियौं ।
... ... ...
याद छ ? —
पतझडपछिका नाङ्गा रुखहरु थिए बाटो वरपर
टिल्पिलाईरहेका थिए ताराहरु गगनको गहिराइमा
मानौ रोइरहेका थिए ती
पुछ्दै आफ्ना भिजेका नयनहरु
बिरानिएको कुनै स्वजनको स्मृतिमा ।
झरिरहेका थिए आकाशबाट शीतका जलकण
हामी रुझेका थियौं अबेरतक
त्यो रातको नीरवतामा ।
... ... ...
याद छ ? —
मानौं सम्झिएझैं कुनै दुखान्त प्रहर
हठात् हटाएर आफ्ना नजरहरु मबाट
तिमीले लामो सुस्केरा हालेकी थियौं ।
तिम्रो गहिरो उच्छ्वासमा
असीम बेदनाको गुञ्जन थियो ।
तैपनि, तिमी सजग थियौ
बाटो नछेक्न आफ्ना आँसुले ।
सम्हालेर आँफैलाई
लुकाएर प्रकट हुन आतुर ज्वालामुखी
पछ्यौरीको सप्कोभित्र
तिमी मौन बसेकी थियौ त्यो रात ।
... ... ...
त्यो बिदाइको रात
(हाम्रो मिलनको त्यो अन्तिम रात
वा भनौं, हाम्रो बिछोडको त्यो पहिलो रात)
शब्दातीत--
त्यो रातको मिठास
त्यो रातको बेचैनी
त्यो रातको मादकता
त्यो रातको खिन्नता
जे कोरिएको छ मेरो मानसपटलमा अमिट
के ममेटिएको छ र प्रिय तिम्रो स्मृतिपटबाट ?
मेरा अन्य रचनाहरु यो लिंकमा हेर्न सक्नुहुनेछ ।
मसँग LinkedIn मा जोडिन चाहानु हुन्छ भने यहाँलाई स्वागत छ ।