दोधारे माइली बुढीको सम्झनामा
माइली बुढीलाई मैले बोन्साई रहरहरु कथा लेख्दा पनि पन्छाउन सकिन । उनी उनको स्वभाबिक हाँसो हास्दै टुप्लुक्क आइपुगिन—त्यो कथामा आफ्नो उपस्थिति खोज्दै । उनी एउटा बेग्लै समयकी बेग्लै पात्र थिइन, मेरो बाल्यकालका केही बर्षहरुकी मूल पात्र । उनी त्यो समयको समाजको नजरमा सायद कुनै हिसाबले पनि विशेष थिइनन, तर मेरालागि भने उनको अस्तित्वले—यस संसारमा उनको उपस्थितिले—एउटा छुट्टै अर्थ बोकेको थियो । सायद, बाल्यकालले सबै मानिसहरुलाई यस्तै अंतरंग बैयक्तिक र खास स्मृतिहरु दिएर जान्छ ।
आफ्नो घरमा डढेलो लागेपछि माइली बुढी आफ्नी जेठी सौतांसँग हाम्रो घरमा बस्न आएकी थिइन । काठको पुरानो दुईतले घरको आगनपट्टीको पाली बारेर उनीहरु बस्थे । मसँग ती दिनहरुका मधुरा स्मृतिहरु मात्र छन । मेटिदै गएका स्मृतिहरुलाई कुनै तरिकाले गाढा बनाएर सम्झन सकिने भए, कहिलेकाहीँ म सोच्छु । माइली बुढी उजेली र खाइलाग्दी थिइन र उनकी सौता काली र सिठ्ठा जस्तै दुब्ली । माइली बुढी बोलिरहनु पर्ने, फरासिली खालकी थिइन । जेठी बुढी घोसे र एकलकाटे । उज्यालोबाट डराए जस्तै अनि मानिसहरुसंग तर्सिए जस्तै, उनी तर्किएर हिँड्ने गर्थिन । कहिलेकसो सौतासंग झिंजिएर बोल्नु बाहेक लामा बातचित र सवाल-जवाफ़ गर्दैनथिन।
सौता-सौताको सम्बन्ध आफैमा एउटा जटिल कुरा हो । दुई बुढीहरु कहिलेकाहीँ बाझाबाझ गर्थे, तरपनि मिलेर बस्नु उनीहरुको बाध्यता थियो । उमेरका दिनहरु पार गरेका दुबै बुढीहरुका सन्तान थिएनन तर प्रशस्त गाईहरु थिए—काला-खैरा रङका होचा रैथाने जातका र एउटा गाई चराउने गोठालो केटो थियो जसको मलाई धेरै सम्झना छैन । उनीहरुका बुढा अन्त कतै बस्थे, सायद सिउनियातिर कान्छी बुढीसंग । बुढा आक्कल-झुक्कल बुढीहरुलाई भेट्न आएको मलाई रिमरिम सम्झना छ । सन्तान हुने आशमा एकपछि अर्की बुढी ल्याउनु अनि पुरानाहरुलाई बेवास्ता गर्नु र एक्ल्याउनु पुरानो नेपाली समाजको पुरानै ब्यथा हो ।
जब म आफ्नो बाल्यकालका दिनहरुतिर फर्किर धुमिल सम्झनाका लहरहरुमा गोता खियाउन थाल्छु, माइली बुढी सधैं उस्तैगरी आफ्नो उज्यालो र हँसिलो अनुहार लिएर देखापर्छिन, मानौं उनी करगर्दै भनिर्हेकी छन, "मलाई नबिर्से है ।" रातो मखमली चोलोमा ठुला चेप्टा आकारका गुलाबी दाना भएका मुगाका माला लगाउने, रातो मजेत्रोले टाउको बाध्ने अनि रातै लच्छा डोरीले कपाल बाट्ने माइली बुढीलाई खासमा राती बुढी भनिदिदा पनि हुने हो । उनी खित्का छाडेर गहिरो हाँसो हास्थिन । उनको तुलनामा, उनकी सौता उल्टी थिइन--रङ-रोगन नभएकी, अन्तर्मुखी र फिका । माइली बुढी बोलक्क्ड थिइन र हाम्री आमासँग पिँढीमा बसेर दोधाराका आफ्ना पुराना दिनका कुराहरु बडो रमाइलो पारामा बयान गर्थिन । उनले भनेका कुराहरु म ठ्याक्कै सम्झन्न तर उनको हाउभाउ, लेघ्रो तनाइ र हास्य मिश्रित बोलीको मिठास भने याद आइरहन्छ । उनका माथिल्ला दाँतहरु झरेर दुई-चार वटा मात्र बाँकी थिए—हुँक्का र चिलिमको कसले पहेंलिएका, लामा-लामा । त्यसले पनि सायद उनको हँसाइलाई फरक बनाएको थियो । पश्चिम नेपालको उनले बोल्ने नेपाली हाम्रो कास्केली लवज भन्दा निकै भिन्न थियो ।
मेरो स्मृतिमा माइली बुढीको बिम्बसँगै धेरै कुराहरु जोडिएर आउँछ्न—गाउँ वरपरको आदिम बन, त्यसको सदाबहार हरियाली, पत्करहरुको सरसराहट, चराचुरुङ्गीहरु, पुतलीहरु, रातका जुनकिरीहरु, बनका फलफुलहरु, गाईका बथानहरु, एउटा बेग्लै समयको बेग्लै परिदृश्य । माइली बुढीसंग दर्जनौं बिरालाहरु थिए । ती हाम्रोतिर पाइने ध्वाँसे बिराला भन्दा फरक खालका थिए—जिउ निख्खर सेता र काला पाटाहरुले ढाकिएका, पेटारे, हेर्दै लोभ लाग्दा । ती बिरालाहरु हरदम बुढीलाई "म्याउ" गर्दै पछ्याइरहेका हुन्थे । उनी बसेको ठाउँमा आएर, जिउ रगर्दै र घुर्दै उनको वरिपरि फन्को लगाउँथे । उनी बिरालाहरुसँग मायालु पारामा बात गर्थिन, बच्चाहरुलाई झैं हप्काउँतिन, काखमा लिएर सुम्सुम्याउँथिन अनि काँसको बटुकामा दुध भरेर पालैपालो खान दिन्थिन । सायद, धेरै टाढादेखि बसाइ सरेर आएको एउटा नौलो र निर्जन ठाउँमा उनका लागि आफ्नो भन्नु एउटी सौता बाहेक तिनै बिरालाहरु थिए । सायद, उनले गाई पाल्नुको अर्थ बिरालाहरुलाई दुध खुवाउनु नै थियो ।
कसरी सुरु भयो होला ती बुढी आमैको बिराला पाल्ने सोख ? दर्जनौं बिराला पाल्नुमा सतह भित्रको उनको मनोविज्ञान के थियो होला ? कहाँबाट ल्याइन होला उनले ती फरक जातका बिराला ? माइली बुढीलाई सम्झदा मेरो मनमा यस्तै अनेक प्रश्नहरु उब्जिन्छन । भनिन्छ मिश्रीहरुले दश हजार बर्षे अघिदेखि नै बिराला पाल्न सुरुगरेका थिए रे । फारोहरूका हजारौं बर्ष पुराना चिहानमा बहुमुल्य बस्तुहरुसँगै ममी गरिएका बिरालाहरु पनि भेटिन्छन । भनिन्छ रात परेपछि बिरालाहरु रात्रीकालिन दुनियामा बिचरण गर्न सुटुक्क घरबाट निस्कन्छन र धेरै परपर सम्म पुग्छन । उनीहरुको यही रहस्यमयी प्रकृतिकै कारण नै हुनसक्छ नेपाली समाजमा बिरालाहरुलाई बोक्सी विद्यासँग जोडेर हेर्ने चलन थियो । अरुले के भन्छसँग माइली बुढीलाई कुनै पर्बाह थिएन ।
माहाकाली नदीको बाढीले उठिबास लगाएपछि, माइली बुढीको परिवार जस्तै धेरै परिवारहरु माहाकाली पारिको दोधारादेखि आएर बर्दियामा हाम्रो गाउँ श्रीकैंडा नजिकै जंगलको छेउमा फुस र खरका अस्थाई झुप्राहरु बनाएर बसेका थिए । त्यो समयमा सरकारको पुनर्बास योजनाले तराइका बिभिन्न ठाउँहरुमा बन फडानी गरेर बस्ती बसाउने काम गरिरहेको थियो । दोधाराबाट आएका बाढीपिडितहरुले पनि नयाँ ठाउँमा जग्गा आवाद गर्ने र बस्ती बसाउने अपेक्षा राखेका थिए तर राज्यले उनीहरुप्रति चासो नदेखाएपछि, उनीहरु आफ्नै देशमा आन्तरिक सरणार्थी जस्तो भएर भौतारिनु पर्ने अबस्थामा पुगेका थिए । हाम्रो गाउँ नजिकै आएर बसेको केही समयमा, बैशाख-जेठको गर्मी र हुरीको बेला, बस्तीमा आगलागी भएपछि दोधारेहरुको फेरि उठिबास भएको थियो र माइली बुढी र उनकी सौताले हाम्रो घरमा ओत पाएका थिए । आफ्नो भन्ने कोही नभएका दुई बुढीहरुको अबस्था देखेपछि हाम्रा बाले उनीहरुलाई हाम्रो घरको पाली बेरेर बस्ने ब्यबस्था गर्नु भएको थियो । यो घटनाको अलि बिस्तृत चर्चा मैले बाको सामाजिक जीवनको प्रसंगमा लेखेको लेख (प्लास्टिक अघिको समय) मा गरेको छु ।
माइली बुढी गहुँका बाक्ला रोटी हालेर आगाको भुङ्ग्रोमा सेक्थिन र तिनमा धिउ दलेर हामी केटाकेटीहरुलाई खान दिन्थिन । निकै स्वादिला हुन्थे उनले बनाएका रोटीहरु । केटाकेटीका कुरालाई लिएर हाँसो-ठट्टा गर्नु र जुनसुकै बाहानामा खुलेर हास्नु उनको बिशेषता थियो । उनी कहिले आफ्नो गोठालो केटोलाई लिएर बनका सागपात र फलफुल खोज्न बनतिर जान्थिन, कहिले चिनजानका मान्छे र आफ्न्तरुलाई भेट्न टाढा-टाढाका गाउँहरुमा पुग्थिन । दोधारे बस्तीमा आगलागी भएपछि, कतिपयले हाम्रो बारीको छेउमा बुकुरा हालेर बसेका थिए भने कतिपय त्यो ठाउँ छाडेर अन्तै लागेका थिए । जहाँ पुगेपनि, साँझ घर फर्कदा केटाकेटीहरुलाई बाड्न माइली बुढीको पटुकामा केही न केही हुने गर्थ्यो । दिएर-बाँडेर खानु मै र टाढाकालाई पनि आफ्न्त बनाएर रमाउनुमा नै सायद माइली बुढीले बाँच्नुको सार देखेकी थिइन । उनको त्यही विशेषताले छोएर नै त होला मैले ती बुढीलाई आजसम्म पनि बिर्सन सकेको छैन ।
माइली बुढीलाई सम्झ्दा झट्ट मनमा आउने अर्को बिम्ब पनि छ—काँसको ठूलो पहेंलो बटुकामा सल्बलाइरहेका मलमल किरीहरु । ती रगतका थोपा जस्ता राता मखमली किराहरु उनले जंगलबाट किन बटुलेर ल्याइन होला ? म यसै भन्न सक्दिन तर मलाई कताकता लाग्छ सायद ती किराहरुको कुनै औषधीय गुण हुँदो हो । सायद, गाईहरुलाई (वा बिरालाह्ररुलाइ?) औषधी बनाएर खुवाउन हुन सक्छ । पुरानो पुस्ताले जानेका र आजको पुस्ताले बिर्सिएका नेपाली समाजमा यस्ता धेरै चलनहरु थिए । ती चलनहरुको वैज्ञानिक प्रमाणिकता आफ्नै ठाउँमा छ । मलमल किरीको बिम्बले मेरो बाल्यकालको एउटा छुट्टै तस्बिर सतहमा ल्याउँछ—तराइको घना जंगल, घनघोर मनसुनी बर्षा, बाफिलो गर्मी, प्राचीनताको बोध गराउने कुनै अमुक गन्ध, कुहिएका मुढाहरुमा पलाइरहेका सिंदुरे रङका काठे च्याउहरु, हेर्दै आङ जिरिङ्ग हुने अरिमुठे किरो, चराहरुका करबलको प्रतिध्वनी, थाकलका सेता-गुलाबी फलहरु, ओसिलो जमिनमा चल्मलाइरहेका हातमा लिएर खेलाइरहुँ जस्तो लाग्ने मलमल किरीका राता गेडाहरु आदि, आदि । साँझको घाम डुबेपछि रात निस्प्ट अध्यारोको गर्तमा डुब्ने त्यो समयमा न हामीसँग इलेक्ट्रिसिटी थियो न रेडियो बाहेक कुनै इलेक्ट्रोनिक ग्याजेट नै । अध्यारोको राजमा स्यालहरुको, कुकुरको, झ्याउँकिरीको, बिरालाको, सिमापारिको रेलको अनि भालेहरुको आवाज मिसिएको सिम्फोनी ध्वनित हुन्थ्यो ।
माइली बुढीका बिरालाको संख्या बढ्दै गएपछि, केहीले घर छाडेर हिंडे । उनीहरु सबैका लागि घरमा प्रयाप्त ठाउँ थिएन । सायद, त्यसरी हिंड्नेहरुमा ढाडे अथवा नर बिरालाहरु थिए । भनिन्छ बिरालो प्रजातिका अन्य जनावरहरू (बाघ, सिंह, लिंक्स, सर्भल, चितुवा, पुमा, आदि) लाई जस्तै उनीहरुलाई पनि आफ्नो निजी बर्चस्वको क्षेत्र चाहिन्छ । कहिलेकाहीँ रातमा उनीहरु आगन र बारीका झाडीहरुतिर कोकोहोलो मच्चाउँथे । घर छाडेर हिँडेका ढाडेहरुले गाउँलेका चल्ला खाएर सताउन सुरुगरेपछि, एक दिन हातमा भाला, लाठा र जाल लिएर बिराला लखेट्दै गाउँलेहरु हाम्रो घर आइपुगे । ज्यान जोगाउन चट्टा-मुढाका चाङभित्र छिरेका चतुर जनावरलाई कसैले भेट्न सक्ने कुरा थिएन । त्यो ठाउँ माउहरुले बच्चा जन्माएपछि छाउरा लुकाउने सुरक्षित स्थान थियो । केही दिनको अन्तरमा, माउहरु आफ्ना छाउरालाई मुखमा झुण्ड्याएर एक ठाउँबाट अर्को ठाउँमा सारिरहन्थे । गुहु लुकाउने र छाउरा लुकाउने मामलामा बिरालामा निकै सजग हुन्छन । सायद, यो उनीहरुको मानिसको संगतमा आएर घरपालुवा बन्नु अघिदेखिको जन्मजात बिशेषता हो ।
हाम्री आमा माइली बुढी र उनकी सौता त्यस्तै डेढ-दुई बर्ष जति हामीसँग बसे होलान भन्ने अड्क्ल गर्नुहुन्छ ।
"खै, सिउनियातिर गए कि," आमा भन्नुहुन्छ । "धेरै अघिको कुरो हो । त्यो बेलाको मलाई राम्रो सम्झना छैन ।"
म उनीहरु त्यहाँबाट हिँडेको दिन सम्झ्न्न । उनीहरु कहिले गए, कसरी गए, छुट्टिएर हिंड्ने बेला के कुरा भए—ती कुरामा मेरो स्मृतिको खाली पाना मात्र छ । हुनसक्छ म उनीहरु हिंड्ने दिन स्कुल गएको थिएँ । म माइली बुढीका पुनराबृत भइरहने कुराहरुलाइ (जस्तो कि उनको हाँसो, उनको बिरालाको देखभाल) जसरी सम्झ्न्छु, अरु कुराहरु त्यही गाढापनमा सम्झन सक्दिन ।
"दोधारामा बाढी आउनु अघिसम्म हुनेखाने थिए रे । नम्बरी सुनका कस्ता राम्रा गहना लाउँथिन ।" आमा सम्झनु हुन्छ । "मान्छेलाई कतिबेला के पर्छ, भाग्यको खेल हो ।"
निसन्तान हुनुलाई ठुलो दुर्भाग्य मानिने त्यस बेलाको हाम्रो समाजमा माइली बुढीले जीवनमा अरु धेरै दुर्भाग्यहरु भोगेकी थिइन—दुई-दुई जना सौताहरु, घरबास गुमाउनु पर्नेगरि आएको प्राकृतिक विपत्ति, लोग्नेको हेलत्व, गन्तब्यहिन भबिष्यको यात्रा, बुढेसकालको एक्लोपन । 'भाग्यले', नियतीले वा परिस्थितिले जे भनौं धेरै कुराबाट उनलाई जति नै बञ्चित गरेपनि उनको अनुहार मा सधैं छाइरहने उन्मुक्त हाँसोबाट भने उनलाई बञ्चित गर्न सकेको थिएन । भलै उनीसँग स्टोइक फिलोसफीको, बुद्दका जीवन दर्शनको र गीता सारहरुको किताबी ज्ञान थिएन, ब्यबहारिकताको कसीमा उनको बाँच्ने कला ती ज्ञानहरु भन्दा धेरै पर पनि थिएन । माइली बुढी र उनकी सौताको जीवन भोगाइ एउटै थियो र सायद उनीहरुको मनको बह पनि एउटै थियो तर उनीहरुबीच भोगाइहरुलाई ग्रहण गर्ने र तिनलाई ब्यक्त गर्ने तरिका फरक थियो । जीवनले दिएका दुखान्त अनुभबहरु र आघातहरुका बावजुद माइली बुढी उषाकालको निरकमल जस्तै फक्रिरहेकी थिइन भने उनकी सौता दुखको अध्यारो छायामा एक्लै हराएकी थिइन ।
मानिस यो संसारमा आफ्ना निजी स्वभाबहरु लिएर आउँछ वा भनौं तिनलाई बिकसित गर्छ । माइली बुढी र उनकी सौतामा यही स्वभाबगत भिन्नता थियो । मान्छेको आ-आफ्नो बैयक्तिक स्वभाबको कुरा हो, जेठी बुढीको पनि माइलीको जस्तै स्वभाब हुनुपर्थ्यो कसरी भन्ने ? तर मानिसले परिस्थितिहरुलाई कसरी ग्रहण गर्छ र तिनलाई सामना गर्न कस्तो प्रबृति अपनाउँछ भन्ने कुराले धेरै अर्थे राख्ने रहेछ । नाजी कन्सन्ट्रेसन क्याम्पमा जीवनका दारुण दिनहरु बिताएर बाँच्न सफल अस्ट्रियाली मनोवैज्ञानिक र दार्शनिक भिक्टर फ्र्याङ्कलले भनेका थिए, "मानिसबाट एउटा कुरा बाहेक सबै कुरा खोस्न सकिन्छः मानव स्वतन्त्रताहरूमध्ये सबैभन्दा अन्तिम—कुनै पनि परिस्थितिमा आफ्नो प्रबृति छनौट गर्ने र आफ्नै बाटो रोज्ने ।"
"हाम्रो घर छेउको ठुलो रुख बयरको बोट थियो नि, त्यसको बिरुवा धेरै पछि एक फेर भेट्न आउँदा माइली बुढीले ल्याइदिएकी थिइन ।" आमा सम्झनुहुन्छ । "रित्तै त किन आउँथिन र—आफ्नै हातले रोपेर गइन ।"
हाम्रो जीवनबाट माइली बुढी ओझेल भएका धेरै बर्ष पछिसम्म पनि हामीले उनले रोपिदिएको बयरका फलहरुको स्वाद चाखिरह्यौं । छाडा भएर गएका उनका बिरालाहरु बेला बेला टुप्लुक्क घरमा आइपुग्थे । आफ्नो बाल्यकालको सम्झना सायद ती जीवहरुलाई पनि हुँदो हो ।
समय घर्किएर गुमनाम माइली बुढीहरुले बाँचेको अध्यारो युगबाट धेरै पर पुगिसक्यो । केही भएन भन्दाभन्दै पनि, यो समयमा नेपाली समाजमा धेर्रै गुणात्मक फेरबदला आएको छ—खासगरि, नागरिक अधिकारका हिसाबले । प्राकृतिक साधन-स्रोत र युवा जनसंख्याले दिएको जनसांख्यिकीय लाभलाई उपयोग गर्न नसक्दा देशको बिकासले जुन फड्को मार्नु पर्ने हो त्यो नहुनु खेदको कुरा हो । घिसिपिटी जेरोन्टोक्रेसी अर्थात वृद्धतंत्रको चंगुलबाट राजनितिलाई जोगाउने नयाँ तरिकाले सोच्ने युवाहरुले साशन-सत्ता लिने कुरा सँसारका प्राय सबै देशहरुका लागि चुनौतीको बिषय हो र यो समस्याबाट नेपाली राजनिति बर्षौंदेखि आक्रान्त छ । तर बिकासका कुरा गर्दैगर्दा, हामीले खोजेको बिकास कस्तो हो भन्ने कुरामा पनि उत्तिकै बहस चाहिन्छ ।
के आर्थिक वृद्धि दर र जीडीपीले मात्र कुनै देशको समुच्च बिकासलाई मापन गर्छ ? धनी र गरिबबीचको असमानताको खाडल बढाउँदै जाने बिकास कति बिकास हो ? मानिसलाई, मानवीय मुल्य-मान्यताहरुलाई पछाडि छाडेर हासिल गरिएको भौतिक बिकास र सम्पन्नताले ले मात्र समाजलाई कहाँ पुर्याउँछ ? आजको बानिया युगमा मौलाइरहेको ब्यक्तिबाद, उपभोक्ताबाद र उपयोगबाद नै बिकासको अन्तिम लक्ष हो ? नेपाली समाजको रुझान हेर्दा, कहिलेकाहीँ मलाई लाग्छ बिकासको रहरमा, हामी पेण्डुलमझैं एउटा अतिबाट हुत्तिएर अर्को अतितर्फ लाग्दै छौं । न आजको मानवीय संबन्धमा माइली बुढीको समयको जस्तो न्यानोपन अनुभब हुन्छ, न कसैमाथि बिपत्ति आइपर्दा आफ्नै घरमा आश्रय दिने दाइत्वबोध नै आजको समाजमा हम्मेसी पाइन्छ । पहिलेको नेपाल आर्थिक हिसाबले जरुर गरिब थियो तर मानबीय मुल्य-मान्यताका हिसाबले उत्तिकै सम्पन्न पनि थियो । बटुवाले निर्धाक कसैको घरमा गएर बास माग्ने/पाउने कुरा आफैमा एउटा दुर्लभ सामाजिक बिशेषता हो जुनबाट नेपाली समाज बिकास र परिबर्तनको भोकमा बिस्तारै टाढिदै गएको छ ।
बाढीले बिबशताको बगरमा ल्याएर छोडेका ती फरक स्वभाबका बुढी आमाहरु आजको जस्तो—सापेक्षित नै भएपनि—अवसर, समानता र क्षमता बिकासको समयमा भएका भए कस्तो जीवन बाँचिरहेका हुन्थे होला ?--माइली बुढीलाई सम्झदा म अक्सर कल्पिने गर्छु । हाम्रो बिकासले अबका जेठी बुढीहरुलाई अध्यारो कुनामा आफ्नै छाया बनेर जीवन गुजारा गर्नुपर्ने अबस्थाबाट निर्बन्ध भएर आफ्नो ब्यतित्व निखारेर बाँच्न पाउने आधार देला ?